के हो भ्याक्सिन राष्ट्रवाद (Vaccine Nationalism)?



     कोरोना भाइरसको क्रममा नयाँ–नयाँ शब्द सुन्नमा आइरहेको छ। जस्तैः क्वारेन्टिन(Quarantine), सोशल डिस्टेन्सिङ(Social-Distancing), कोभिड (COVID) आइसोलेशन(Isolation) आदि–आदि। यसै क्रममा एउटा नयाँ शब्द पनि प्रयोगमा आएको छ, त्यो हो भ्याक्सिन नेशनालिजम अर्थात् भ्याक्सिन राष्ट्रवाद।

के हो भ्याक्सिन राष्ट्रवाद (Vaccine Nationalism)? 

जब कुनै धनी वा विकसित देशले कुनै भ्याक्सिन बन्नुभन्दा पहिले नै भ्याक्सिन बनाउने कम्पनीबाट डोज खरिद गर्ने सम्झौता गर्छन् भने त्यसलाई भ्याक्सिन राष्ट्रवाद(Vaccine Nationalism) भनिन्छ। कोरोना भ्याक्सिनको कारणले गर्दा भ्याक्सिन राष्ट्रवाद पछिल्लो समय चर्चाको विषय बनेको छ।

पछिल्लो समय विश्वभर कोरोना भ्याक्सिन बनाउने होडबाजी नै चलिरहेको छ। यसै वर्षको अन्त्यसम्म कोरोनाको भ्याक्सिन पाउने आशा गरिएको छ। यस्तोमा रुसले त कोरोना भ्याक्सिन बनाएको दाबी नै गरेको छ र ठूलो मात्रामा उत्पादन पनि शुरु गर्ने भएको छ। यसैगरी, चीन पनि भ्याक्सिनको उत्पादन शुरु गर्ने तयारीमा रहेको छ। उता अमेरिका, बेलायत र भारत समेत विश्वका कयौँ देशहरुमा भ्याक्सिनको ट्रायल चलिरहेको छ।

यसै हप्ता मात्र एक पत्रकार सम्मेलनका क्रममा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का चीफ टेड्रोस गेब्रेइसेसले विश्वका सबै देशहरुसँग भ्याक्सिन नेशनालिजमबाट बच्नका लागि आग्रह समेत गरेका छन्। उनले भने, हामीले भ्याक्सिन नेशनालिजम रोक्न आवश्यक छ। किनकि रणनीतिक रुपमा आपूर्ति गर्नु खासमा प्रत्येक देशको हितमा छ।

भ्याक्सिन राष्ट्रवाद किन खतरनाक छ? यस्ता छन् कारण

१.  धनी देशसम्म मात्र भ्याक्सिनको पहुँच हुने
ठूला र धनी देशहरुले भ्याक्सिन बन्नुभन्दा पहिले नै फार्मा कम्पनीहरुसँग त्यसलाई किन्नका लागि सम्झौता गरिरहेका छन्। यस्तोमा यदि भ्याक्सिन सफल हुन्छ भने धनी देशहरुसँग भ्याक्सिन सबैभन्दा पहिले पुग्छ। जबकि साना र गरिब देशहरुसम्म भ्याक्सिनको पहुँच पुग्न सक्दैन। यस्तोमा धनी देशहरुमा महामारी नियन्त्रणमा आएपनि गरिब देशहरुको अवस्थामा कुनै सुधार देख्न सकिदैन।

२.  गरिब देशमा महामारी झनै खतरनाक हुने
बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशनको संस्था गाभीका कार्यकारी प्रमुख सेथ बर्कलीका अनुसार, यदि भ्याक्सिनको दुई डोज छ र तपाई पूरै अमेरिका र यूरोपियन यूनियनका जनसंख्यालाई भ्याक्सिनको डोज दिने प्रयास गरिरहनु भएको छ भो तपाईलाई १.७ अर्ब डोजको आवश्यकता हुनेछ। यदि यो उपलब्ध डोजको संख्या हो भने बाँकी देशहरुका लागि केही पनि बच्ने छैन। यदि ३०–४० देशहरुसँग मात्र भ्याक्सिन भयो र १५० देशसँग भएन भने महामारीबाट त्यहाँ ठूलो संकट उत्पन्न हुनेछ।

३.  स्वाइन फ्लूका क्रममा देखिएको अवस्था सिर्जना हुने
सन् २००९ मा विश्वभरमा स्वाइन फ्लू फैलिएको थियो। यसबाट २ लाख ८४ हजार मानिसहरुको मृत्यु भएको थियो। करिब ७ महिनाभित्र नै स्वाइ फ्लूको भ्याक्सिन बनेर तयार भएको पनि थियो। उक्त भ्याक्सिन अस्ट्रेलियाले बनाएको थियो। तर, अस्ट्रेलियाले उसको सबै जनासंख्यासम्म भ्याक्सिनको पहुँच नपुगेसम्म उक्त भ्याक्सिनको निर्यातमा रोक लगायो। उक्त समयमा स्वाइन फ्लूको नियन्त्रणका लागि भ्याक्सिनको २ अर्ब डोजको आवश्यकता रहेको अनुमान लगाइएको थियो, जसमध्ये ६० करोड डोज अमेरिकाले मात्र खरिद गरेको थियो।


भ्याक्सिन नेशनालिजम रोक्नका लागि बन्यो कोभ्याक्स

भ्याक्सिन नेशनालिजम रोक्न र गरिब तथा साना देशहरुसम्म छिट्टै भ्याक्सिन पुर्याउने उद्देश्यका साथ कोभ्याक्स नामक फाइनान्सिङ स्कीम (Financing scheme) शुरु भएको छ। उक्त स्कीममा डब्ल्यूएचओ(WHO), गाभी (GAVI The vaccine Alliance) र एपिडेमिक प्रिपेयर्डनेस इनोभेसन (Coaliation for Epidemie Preparedness Innovations) जस्ता संस्थाहरु सामेल छन्।

Comments

Popular posts from this blog

Dengue in Nepal: A Growing Public Health Concern

संसद्, सर्वोच्च, सिंहदरबार र राष्ट्रपति भवन जलाउन पेट्रोलियम पदार्थको प्रयोग

Manaslu Circuit Trek Cost Guide 2025: Complete Budget Breakdown & Money-Saving Tips