साइप्रसबाट हिंडेरै पोर्चुगल पुगेको दाङको राजको कथा

हाम्रो समुदायले नाम दिएको कथित उज्वल भविष्य खोज्दै एकजना साइप्रसदेखि पोर्चुगल पुगेका छन्। भन्नलाई त त्यहाँ सुखी र खुसी जीवनका लागि भनिन्छ, वास्तवमा त्यो सत्य होइन। उपभोक्तावादी मनस्थितिले मानिसलाई प्रसन्न रहन कहिल्यै दिँदैन। छिमेकी जापान गएर तीन तलाको घर ठड्याए भने आफूलाई पनि युरोप छिरेर चार तलाको घर बनाउन हुटहुटी लाग्छ। नत्र त्यो समाजमा आफ्नो हैसियत तिनीहरूसँग मिल्दैन र अपमानबोधले मन खियाइरहन्छ। बैंकमा ऋण तिर्दातिर्दै हालत खराब किन नहोस्! व्यक्तिबाट लिएको चर्को ब्याजले टुप्पी किन ननाघोस्, तर अरूलाई देखाउनकै निम्ति जीवनभरको कमाइ घर बनाएर सजाउनमा लगाउँछन्। दुई–चारजनाले ओहो! कति धेरै पैसा कमाएछ भनेर आरिस गरोस् भन्ने लाग्छ। भित्र आँसु भए तापनि बाहिर हाँसो देखाउनुपर्छ। यो भन्न कन्जुस्याइँ नगरौँ, हामी देखासिकी समुदायमा छौँ। अन्ततः यसले मानिसलाई खुसी होइन दुःखी नै बनाउँछ। सामाजिक सद्भाव खलबल्याऊँछ र व्यक्ति–व्यत्तिलाई टाढा राख्छ। मुखमा आहा! दिलमा डाहा जगाउँछ। 

        नाम सार्वजनिक नगर्ने सर्तमा एक जनाले यो व्यथा सुनाएका छन्। काल्पनिक नाउँ राखौँ राज।


दाङको पूर्वी पहाडी विकट गाउँमा हो उनको बासस्थान। अहिले त्यो पुर्ख्यौली जमिन बाँझो रहने स्थितिमा छ। भर्खरै सदरमुकाम घोराहीमा अढाई तलाको घर बनाएका छन्। अविवाहित राज पोर्चुगलको पीआर आएपछि नेपाल फर्केर सायद बिहे पनि गर्लान्! राहदानी बनेपछि भिजिट भिसामा नेपाल घुम्न आउलान्! उनले बिहानीको उज्यालोजस्तै भविष्य उज्वल नेपालमा होइन, युरोपमा देख्ने आस गरेका छन्। दाङमा साढे दुई तलाको घर ठडाउन उनी दिल्लीदेखि साइप्रस हुँदै पोर्चुगल पुगेर कमाएको लागत लागेको छ। दिल्लीमा पाँच तारे होटलमा सेफ थिए। सात लाख लागतमा साइप्रस पुगे। यहाँ रकम त राम्रै पाए, तर भविष्य देखेनन्। हुन त भोलि कसले पो देखेको छ र? तर त्यो बिहानीको आसमा नै मानिस बाँच्ने हो। अनि अवैध बाटोबाट पोर्चुगल हानिए। अहिले आफन्तले स्याबास भन्छन्। तर छातीभित्र लागेको घाउको व्यथा बिचरा तिनीहरूलाई के थाहा?

        राजको बाल्यकाल त्यति सुखसुविधाको भने थिएन। प्राविमा पढ्दा द्वन्द्वकाल थियो। खोलापारि देखिन्छ विद्यालय तर खोला तरेर त्यहाँ पुग्न चालीस मिनेट लाग्छ। गाउँ एकलासमा हुँदा माओवादीले डेरा जमाएर बसेको थियो। आधा बस्ती माओवादीमय भएको थियो। कयौँ युवा युद्धमा होमिएका थिए। बुर्जुवा शिक्षा भनेर नपढ्न आग्रह गर्थे, तर स्कुलै जान रोक भने लगाएनन्। समाजवादको पाठ पढेर द्वन्द्वकालीन परिस्थितिमा हुर्किएका उनको ध्यान सायद किताबभन्दा बढी बन्दुकमा गयो होला! मावि पढ्न पौने दुई घण्टाको बाटो पार गर्नुपर्थ्यो। पहाडिया स्कुल अङ्ग्रेजी कमजोर। राज भन्छन्– ‘राम्रो इङ्लिस जान्या भा दिल्लीमै पाँचतारे होटलको ठूलै सेफ भइन्थ्यो।’ उनलाई बेलाबखत आफ्नो बाटोको अवरोध भाषा हो कि जस्तो लाग्छ। अङ्ग्रेजी बोल्न जान्ने मात्रै बुद्धिजीवी हुन्छन् भन्ने भाष्य गलत हो। तर जति भाषा जान्यो उति आफूलाई सजिलो हुन्छ कि! 

        बारीभन्दा ठूलो खरबारी। लालपुर्जामा जमिन धेरै छ तर अनाज फल्दैन। व्यवस्था बदल्न बन्दुक बोकेर युवाहरू जङ्गल पसे भने राजका दाइहरू आफ्नो गरिबी जीवन उकास्न भारत छिरे। यो बखत राजका दाइहरूले सदरमुकाममा घर उभ्याए। जंगल पसेका न्यायप्रेमीहरू घाइते अवस्थामा तिनै पुर्ख्यौली जमिन रुँगेर बस्न बाध्य छन्। घाइते योद्धाहरूले माओवादी आन्दोलनलाई होइन, शान्ति प्रक्रियापछि पुँजीवादी संसदीय व्यवस्थामा सम्मिलित भएका ‘गद्दार संशोधनवादी’ नेताहरूलाई निकै घृणा गर्छन्। राज सम्झन्छन्– ‘दाइहरू नै मेरा मार्गदर्शक हुन्। उनीहरूलाई पिछा गर्दै म होटलमा सेफ हुन सकेँ।’ राजनीतिबारे उनको खासै चासो छैन। सम्पत्ति नै सुन्दर भविष्य ठान्छन्। पुँजीवादी व्यवस्थाले उनलाई पनि समाजवादी हुन दिइरहेको छैन। निजी सम्पक्ति र व्यत्तिगत जीवन चाहन्छन्। नत्र धनका लागि ज्यानै धरापमा राखेर बिहानीको आसमा हिँड्दैनथे होला! 

      

कमाइ र बसाइँ दुवै राम्रो थियो राजलाई साइप्रसमा तर यो देश युरोपियन युनियनभित्र भए तापनि शेन्नगेन नहुँदा यहाँदेखि अन्य युरोपियन मुलुक जान पाइँदैन। शेन्नगेन देशजस्तो सुविधाजन्य पनि छैन। साइप्रसमा जति वर्ष बिताए पनि पीआर कार्ड र राहदानी बन्न सम्भव छैन भन्ने सुनिन्छ। अहिले युरोपियन शेन्नगेन मुलुकमा पुगेकाहरूको सोच भनेकै आप्रवासी बनेर बस्ने हो। नेपाल त भिजिट भिसा लगाएर जाने।

        अवैध बाटो हुँदै पोर्चुगल पुगेको सुनेकै थिए राजले। कति आफन्त नै गए। कोही सहकर्मी पनि पुगे। अब उनलाई पनि पोर्चुगल सपनाले निदाउन दिएन। साथीहरूले मानव तस्करको सम्पर्क नम्बर उपलब्ध गराए। हुन त उनले विधिपूर्वक त्यहाँ पुग्ने प्रयास गरेका थिए, तर त्यो सफल हुन सकेन। मानव तस्करी नेपाली नै रहेछ। पैँतीस सय युरोमा गन्तव्य पुर्‍याइदिने सर्त राख्यो।

        साइप्रस द्वीपमा अवस्थित छ। यो दुई देशमा विभाजित छ। टापुको केही भाग तुर्कीमा पर्छ। तुर्की अर्थात् उत्तर साइप्रसभित्र छिर्न त्यति गाह्रो छैन, राहदानी या भिसा कार्ड देखाइदिए प्रवेश पाइन्छ। यही उत्तर साइप्रसको लाभ लिन्छन् मानव तस्करहरू। हर्षमान पनि तुर्की साइप्रसमा पुगे। दलाललाई पन्ध्र सय युरो बुझाइसकेका थिए। उनी हवाइजहाजदेखि बोस्नियाको राजधानी पुगे। त्यहाँसम्मको यात्रा खासै चुनौतीपूर्ण थिएन। दलालले भिजिट भिसामा पठाएको थियो। उनको समूहमा एक नेपाली दिदीसहित चारजना थिए। विमानस्थलबाहिर हिन्दी बोल्ने सायद पाकिस्तानी हुनसक्छ अर्को दलालसँग भेट भयो। उसले बस्न र खानाको बन्दोबस्त मिलायो। त्यहाँ हर्षमानको समूह मात्रै नभई अरू थुप्रै विभिन्न देशका फरकफरक गन्तव्यमा अवैध मार्गदेखि पुग्ने मानिस थिए। चिनजान गरिरहनु आवश्यक थिएन। सबै आ–आफ्ना तनावमा थिए। थप एक नेपाली बहिनीसँग जो पहिलै साइप्रसदेखि बोस्निया पुगिसकेकी रहिछन्, उनीसँग नेपाली भनेर परिचय मात्रै भयो। घर कहाँ हो थाहा भएन। राजलाई याद भएसम्म त्यो पचपन्नदेखि साठीजनामा नेपाली तीनजना मात्रै थिए।

        बोस्नियामा थप दुई हजार युरो बुझाएपछि बल्ल अगाडिको यात्रा तय हुने बतायो मानव तस्करले। राहदानी, धेरै पैसा, पर्स, मोबाइलमा भएका आफ्नो परिचय खुल्ने खालको कुनै पनि चिज आफूसँग राख्ने अनुमति दिएन दलालले। ती वस्तु सिधै इटली पुगेर प्राप्त गर्न सकिने जानकारी दियो। पानीजहाजदेखि पनि होइन, हवाईजहाजमा पनि होइन, अबको उनीहरूको यात्रा पैदल तर जोखिमपूर्ण हुनेथियो। अन्य मोबाइल राख्न सकिने भए तापनि आइफोनमा चाहिँ रोक लगाएको थियो तस्करले। तर हर्षमानले आफूसित भएको आइफोन आफूसँगै लुकाए राखे। उनको मनमा आँधी चलेको थियो– बाटोमा अप्ठ्यारो पर्‍यो भने मोबाइलकै सहाराले गन्तव्यमा पुग्न नसके तापनि फिर्ता त भइएला।

        बोस्निया देशमा झमक्क रात पर्‍यो। यात्रीहरू चनाखो भए। उनीहरू रातारात जङ्गलको बाटो हुँदै मिरमिरे उज्यालोभन्दा पहिले बोस्नियाको सिमाना काटेर क्रोएसियामा भित्रिनु थियो। सकेसम्म सानो झोला बोक्ने आदेश थियो। बाटोमा प्रहरी, सेना भेटिए तस्करले जिम्मा नलिने बतायो। कोही थाकेर पछि रहे। कोही नदी तर्न नसकेर बगे। कोही बिरामी परे। या कोही मरे पनि एकले अर्कालाई मद्दत नगर्ने निर्देशन थियो, मात्र आफ्नो ज्यान जोगाउनू। मानव भएर पनि मानवता हराएको युग त्यसै कहाँ भनिएको हो र!


        साठीजनाको समूह जङ्गलको बाटो पस्यो। मोबाइलको उज्यालोले गोरेटो पैल्याउँदै अगाडि बढिरहे। घना जङ्गल भएको हुँदा धरती आकाश नै अँध्यारो देखिन्थ्यो। चाँडो हिँड्नु थियो। कसैलाई पर्खनु थिएन। बीचमा नदी पर्‍यो। झण्डै घाँटीसम्म पानी थियो। राजलाई याद थियो खोला कसरी तर्छन्! उनी गाउँमुनिको ठाडो खोलामा पौडी खेल्दै गंगटा र माछा मार्दै हुर्किएका हुन्। पहाडमा आउने कम्मरमुनिको भलले मान्छे बगाउँछ। घाँटीसम्मको नदी पनि रातमा निदाएजस्तो शान्त थियो। सँगै साइप्रसदेखि गएकी नेपाली दिदी भने नदीबाट अलप भइन्। उनको झोला अलिक भारी थियो। हर्षमानले बोकिदिन्छु पनि भनेका थिए, तर उनले मानिनन्। नदीले बगायो कि! नदीपारि नै छन् कि! रक्तचाप बढ्यो, रिंगटा लाग्यो। जे भए पनि नेपाली हुन्। खोज्नुपर्ने। पर्खनुपर्ने। तर अगाडिको समूह धेरै पर पुगिसक्यो। कटक्क मन खायो। मन भारी  पार्खुदै खुट्टा अगि सारे। 

        हिंस्रक जनावरले आक्रमण गर्ला कि? डाँकाले फेला पारे जे पनि गर्ला? परिचय खुल्ने कागजात केही छैन साथमा। युरोपमा त कुकुर र बिरालो मर्दा बरु मान्छे रुन्छन् तर मान्छे भोकै बसोस् कि मरोस् वास्ता हुन्न। पोर्चुगलको सपनाले के ती दिदी यतै अस्ताइन् त? राजले समूहको पिछा गरिरहे। जोखिमपूर्ण यात्रामा नभए त ती दिदीलाई जसरी पनि उद्धार गरिन्थ्यो। यहाँ त सहारा दिँदा उल्टो फसिने त्रास छ। दिदीलाई सम्झेर रोइदिऊँ रोइदिऊँ लाग्यो। के आँसु समस्याको समाधान हो त? उनी भन्छन्– ‘उज्यालो हुनुभन्दा पहिले भर्खर काँडेतार पार गरेका थियौँ। सायद त्यो बोस्निया र क्रोएसियाको सीमा हुनुपर्छ। सिमसिमे पानी पर्न सुरु गरेको थियो। साउनको महिना भए तापनि जाडो थियो। मैले पिठ्युँमा सानो झोला बोकेको थिएँ। म त्यो मान्छेको ताँतीमा बीचतिर थिएँ। तीन–चारवटाजति लाग्छ, विपरीत दिशादेखि गाडी आइहाल्यो।’

        ‘स्टप, हृयान्ड्स अप।’ भनेको सुनियो। मान्छे भेडाबाख्राजस्तो कुदिहाले जङ्गलतिर। ढ्यामढ्याम दुईपटक बन्दुक पड्कियो। सबै तितरबितर भए। राजलाई अब यत्ति हो बाँच्नेजस्तो लाग्यो। द्वन्द्वकालमा माओवादी र सेनाले बन्दुक पड्काएको सम्झना ताजा भयो। कति त्रासमय थिए ती दिनहरू। कहिले विद्रोही पक्षले जबरजस्ती भाषण सुन्न बोलाउँथे र यो व्यवस्था ढाल्ने खरो चेतावनी दिन्थे अनि गाउँलेले बुझेर हो कि भयले गजबको ताली पड्काउँथे। राजको बाल मस्तिस्कले ति क्रान्ति र साम्यवादको सिद्धान्त ग्रहण गर्न सक्दैनथ्यो। कहिले तत्कालीन शाही सेना आधुनिक हातहतियारसहित बस्ती छिरेर आतङ्ककारीलाई किन बस्न खान दिएको भन्दै बन्दुकको कुन्दाले बाआमालाई कुटिदिन्थे। राजलाई लाग्थ्यो, राज्य पक्षभन्दा त विद्रोही पो सही छ। किनकि माओवादीले गल्तीबिना गाउँलेलाई भौतिक कारबाही गर्दैन। राज्य सत्ताको नीति र विद्रोहीको विचार बुझ्ने क्षमता थिएन तर बन्दुकसँग निकै डर लाग्थ्यो। बन्दुकले आफ्नो बिरानो चिन्दैन। उडिरहेको ढुकुर खसाल्न सक्छ। कुदिरहेको बँदेल ढाल्न सक्छ। माओवादी बिगबिगी बढ्नुभन्दा केही महिनापहिले छिमेकी काकाले बन्दुक पड्काएर सिकार गरेको चाल पाएका थिए। दाङको सदरमुकाम घोराहीमा २०५८ साल मङ्सिर महिनामा माओवादीले तत्कालीन शाही सेनाको ब्यारेकमा आक्रमण गर्दा गोली लागेर घाइते अवस्थामा बोकेर ल्याएका योद्धालाई पनि आफ्नै आँगनमा छटपटाइरहेका देखेका थिए। 

        सङ्कटकालीन त्यो दिन र यो झरीको रात उस्ताउस्तै लाग्यो। झन् नेपाली बहिनी गर्ल्याम्म ढलिन्। ओहो! गोली नै लाग्यो क्या हो? सहयोग गर्न जाने कि नजाने? दुविधामा परे राज। उनमा मानवता जाग्यो। पोर्चुगल पुगिएला/नपुगिएला! तर यसरी एउटी चेली लडिरहेको चाहिँ टुलुटुलु हेर्न सकिँदैन। तीस जनाजतिलाई प्रहरीले छोपेर फिर्ता पठाइसक्यो। पन्ध्र–बीसजना जङ्गलैजङ्गल कता हराए। राजसँग चारजना र बेहोस भएकी ती बहिनी मात्रै आसपासमै थिए। एकत्र भएर बहिनीतिर गए। त्यत्ति गर्दा हतियारधारीहरूले देखिहाले। उनीहरू केही सुन्न चाहँदैनथे मात्र ‘गो ब्याक गो ब्याक’ भन्थे। बहिनीलाई सजिलो ठाउँमा लगेर राखे। सेना रहेछ, हात माथि उठाउन लागएर शरीर जाँच गर्‍यो। केही नपाएपछि कता हिँडेको भनेर सोध्यो। कसैले पोर्चुगल कसैले इटली र जर्मनी भने। नेपाली बहिनीलाई गोली लागेको रहेनछ, दिल ठूलो भयो। 

        

उनकै समूहको एकजनाले भनेअनुसार तीनपटकसम्म यही सीमाबाट फर्काएको रहेछ। बहिनीलगायत उनका समूहको यो चौथोपटक रहेछ सेनाले समाएको। सायद उनी धेरै दिनको अनिद्रा र तनाव अनि जाडोले बेहोस भइन् कि! राजले उनका हातखुट्टा घर्षण गराएर ताप उत्पन्न गराए, तर पनि उनी होसमा आइनन्। आँसु चुहाएर सहयोग माग्दा पनि सेनाले ‘गो ब्याक’ मात्रै भन्यो। सायद सेनालाई पनि अङ्ग्रेजी प्रस्ट आउँदैनथ्यो। आफ्नो भाषामा केके भन्थ्यो। निकै रिसाएजस्तो लाग्थ्यो। राजहरूले एम्बुलेन्स र हस्पिटलको बारम्बार नाम लिए। यति गर्दा उज्यालोको सङ्केत देखियो। अन्तमा सेनाले मान्यो। ती बहिनी बेहोस हुँदा उनीहरूले क्रोएसिया छिर्न पाए। झ्यालबिनाको गाडीमा नजरबन्द शैलीमा हस्पिटल पुर्‍यायो। बहिनीको चेत खुलेपछि सेनाले प्रहरी चौकी लगेर गयो। प्रहरीले सोधपुछ गर्‍यो। देशको नाम नेपाल, पाकिस्तान, श्रीलङ्का। आफ्नो बदलिएको नाम बताए। प्रहरीले कसैको मोबाइल खोस्यो। कसैको चार्जर फ्याँकिदियो। संयोगवश राजको आइफोन चाहिँ भेट्टाएन। प्रहरीले शरणार्थी शिविरमा पुर्‍यायो। त्यहाँ सित्तैमा बस्न र खान पाइयो। बहिनी भन्थिन्– ‘क्रोएसिया छिर्न निकै गाह्रो छ। लाग्छ हामीले त्यो भर्‍याङ चढ्यौँ। अब पोर्चुगलसम्म त कसो नपुगिएला!’

        नेपाली बहिनीको समूहमा चारजना। राजको समूहबाट उनी मात्रै। हुँदो के रहेछ भने मानव तस्करीको ठूलै सञ्जाल रहेछ। आ–आफ्नो समूहबाट चार–पाँचजना बनाउँदै पठाउँदो रहेछ। जङ्गलतिर भागेका कता गए? फर्काएकाहरू कहाँ पुगे? साइप्रसदेखि सँगै आएका ती नेपाली दिदी कहाँ गइन्? कोही मरे या बिरामी परे या त हराए कसैको लेखाजोखा छैन। मरेकै भए पनि शव आफ्नो देश र परिवारले पाउनेवाला थिएनन् किनकि कुनै परिचय नै छैन। यति जोखिम मोलेर देखेको सपनाको पनि के अर्थ ? के पैसा नै सबथोक हो त? हुन त मानिस व्यवसायमा घाटा खाएपछि, ऋण लागेपछि, भनेजस्तो सम्पत्ति जोड्न नसकेपछि आत्मदाह गरेको सुनिन्छ। यी समस्याको निराकरण खोज्नुपर्ने हो तर आमजनता झन् उपभोक्तावादको दलदलमा फस्दै छन्। यो त जानबुझी गोहीको आहार बन्न पुगेजस्तो भएन र? फेरि धन हुनेहरूकै मन हुँदैन। ठूलो घरको सानो सोच।

        राजको मोबाइलले निकै महत्त्वपूर्ण काम गर्‍यो। ‘सायद मोबाइल नभएको भए अझ कति दुःख पाइन्थ्यो?’ उनी बोल्दाबोल्दै टक्क रोकिन्छन्। हुनसक्छ त्यो क्षण अब उनलाई भयानक सपनाजस्तो लाग्छ। दलालसित सम्पर्क भयो। आफ्नो समूहबाट आफू मात्रै त्रोएसिया पुगेको जानकारी गराए। जे जे घटना घटेको थियो सबै बेलिबिस्तार लगाइदिए तर दलाललाई के मतलब? शरणार्थी शिविरमा तीन दिन बसे। बडो अनुरोधपछि नेपाली ट्याक्सी चालकले राति नै क्रोएसियाको सिमानामा छाडिदिए। फेरि जङ्गल हुँदै स्लोवेनिया प्रवेश गरे। बिहानीपख प्रहरीले समात्यो। सोध्यो– ‘नेपाली?’ राज र बेहोस हुने बहिनी अनि हराएकी अर्की दिदी मात्रै होइन रहेछ, यसरी अवैध मार्गदेखि सपनाको देश हिँड्ने। स्लोवेनियाका प्रहरीले समेत नेपाली भनेर बोलाउँछ भने कति नेपाली भेट्यो होला उसले। प्रहरी चौकी लगेर पुनः शरणार्थी शिविरमा छोडिदियो। 

        तस्करसँग सम्पर्क भयो। दुई दिनको बसाइपछि तस्करले अब आफ्नो समूहका साथी मात्रै भेटिएर स्लोवेनियाको सीमा काट्न र इटली प्रवेश गर्न भन्यो। राजले ती बहिनीसँग भारी हृदयले बिदाइका हात हल्लाए। मरिएछ भने भेटिने कुरै भएन। बाँचिएछ भने पनि को कता–कता? अप्ठ्यारो स्थितिमा चिनजानपछि चाँडै घुममिल भएका थिए। छुट्टिँदा गाह्रो हुनु नेपाली स्वभाव हो, नरमाइलो लाग्यो। 

        बसेको शिविरदेखि आफ्नो समूह भएको शिविर पुग्न राजलाइ पैदल डेढ घण्टा लाग्यो। एकलास वनमा एक्लै गोरेटो पछ्याउँदै अँधेरी रातमा हिँडे। अनजान ठाउँ। हिंस्रक जनावरको डर। डाँकाको भय। सेनाको त्रास। मरिने बाँचिने पत्तो छैन। तर खुड्किलोहरू पार गर्नुथियो सुन्दर बिहानीको आसमा। हो त्यो बेला चाहिँ उनलाई पुर्ख्यौली बुढो घर। बाँझो खेत। मल नपुगेर उब्जनी कम हुँदै गएको बारीको खुब याद आयो। आखिर मानिसलाई चाहिने भनेकै गाँस, बास र कपास न हो। त्यसरी त गाउँमै पनि बाँच्न सकिन्छ। घर खरको छानो होला। मैलो लुगा लगाइएला। स्वादिष्ट नभए पनि पेटभरि खान सकिएला। तर यसरी त्रासमय जीवनयापन गर्नु त पक्कै पर्दैन। के साँच्चै देखासिकी समुदायले उनलाई त्यो हुलियामा स्वीकार गर्ला र? जम्मै घर रुँगेर बस्ने भनेकै बुढा बाआमा मात्रै हो। छोरा कि भारत या तेस्रो मुलुक। बुहारी नाति–नातिनी पढाउन सदरमुकाम। गाउँ रित्तो छ। लासलाई मसानघाट पुर्‍याउन अर्को बस्तीबाट मलामी पैँचो माग्ने स्थिति छ। गाउँमा माया लागेरभन्दा पनि पैसा कमाउन नसकेर सीमित युवा मात्रै बस्छन्। तिनलाई दिनहुँ कसै न कसैको ताना सुन्नुपरेको हुन्छ। जहाँ आत्मसम्मान हुँदैन त्यहाँ बसिरहन पनि मन लाग्दैन। कतिको कति दिन मुख थुन्नु!

      

राज आफ्नो समूह बसेको शिविरमा पुगे मोबाइलको माध्यमबाट। मिरमिरे उज्यालोमा स्लोवेनियादेखि इटलीका लागि रेल चढे। स्लोवेनिया र इटलीको सीमामा रेलभित्र सेनाले जाँच गर्छ भनेर तस्करले चेतावनी दिएको थियो। त्यसैले शङ्का नलागोस् भनेर उनले आफ्नो सानो झोलाको पनि सबै लुगा खाली गराएका थिए। युरोपियन शेन्नगेन मुलुक इटलीमा प्रहरीले सोधपुछ गरेन। स्टेसनमा पुग्दा घामको बिहानी पहिलो किरण मुहारमा पर्‍यो। तस्करलाई सम्पर्क गरे। सूर्य धेरैमाथि आउँदासम्म प्रतीक्षा गरिरहे। उनको झोलामा मन्जन, ब्रस र दाह्री फाल्ने मेसिन मात्रै बाँकी थियो। विदेशी मानिसले राहदानी र पोर्चुगलको हवाई टिकट दियो। अब त पोर्चुगल पुगिने भइयो भनेर कताकता खुसी लाग्यो तर नदी तर्दै गरेकी दिदीको कुनै अत्तोपत्तो नहुँदा मन खिन्न भयो। ज्यान सकुशल भए त उनी पनि यसरी नै पोर्चुगल पुग्लिन् या साइप्रस नै फर्किलिन्। केही विपत परेको भए?? शरीर फुल्ल फुल्लियो। आफ्नो देशको स्थिति सही भए, को पो अवैध मार्गदेखि भविष्य खोज्दै हिँड्दो हो र? व्यवस्था परिवर्तन गरेका नेताहरूको मात्रै अवस्था फेरियो। समाजवादको भाषण विचारमा मात्रै व्यवहारमा शून्य। कथा पढ्नेलाई लाग्ला राजको बेबकुफी हो। तर उसलाई यसो गर्न कसले बाध्य पार्‍यो? गम्भीर हुँदै सोचौँ।

        केहीबेरपछि बेहोस हुने बहिनी पनि स्टेसनमै पुगिन्। राजलाई देखेपछि हर्षित भइन्। उनीसँग मोबाइल पनि थिएन। स्टेसनमा वाइफाइ जोडियो। राजको मोबाइलमा फेसबुक लग इन गरेर आफ्नो तस्करलाई जानकारी गराइन्। त्यसपछि राज अर्को रेल चढेर मिलान सहरतिर लागे। सायद बहिनी पनि अर्को रेलमा आइन् कि! इटलीदेखि हवाईजहाजबाट पोर्चुगलमा पाइला टेके राजले। त्यो मुलुकमा उनको आफन्त डेढ वर्षदेखि छन्। कामको व्यवस्था पनि उनले नै मिलाएदिए। ती आफन्त पनि साइप्रसदेखि अवैध बाटोबाटै पुगेका हुन्, तर राजजस्तो शरणार्थी शिविरमा बस्नुपरेन। चुनौती त पक्कै थियो।

        खुसीको कुरा त्यो भयानक रातमा नदी तर्दै गरेकी दिदी पोर्चुगलमै भेटिन् केही महिनापछि। सायद बहिनी पनि यतै होलिन् भन्ने लाग्छ राजलाई। दिदी थाकेको हुँदा समूहको पिछा गर्न सकिनछिन्। जाडोले थरथर काँप्दै रात बिताईछिन् । संयोगवश डाँका पनि लागेनछ। जङ्गली जनावरले हमला गरेनछ। बिहान हेलिकोप्टर आएछ। उनले रातो लुगा देखाएर उद्धारको माग गरिछन्। केहीबेरमा प्रहरी आएर क्रोएसिया भित्र्याएछ। उनको कथा–व्यथा छुट्टै छ।

बिहानीको आसमा जसरी–तसरी भयानक रात कटाइँदैछ। उज्यालो होला अनि खुसी र सुखी दिन बिताइएला भन्ने लाग्छ,’ राज यत्ति भने। 

 अहिले विश्वभर बेरोजगारी बढिरहेको छ। हाम्रो मुलुकमा झन् पहिल्यैदेखि युवालाई रोजगार थिएन। फरक यत्ति हो, अगाडिको तुलनामा यसबखत देश छोड्नेहरूको सङ्ख्या वृद्धि भएको छ। विदेशिनेहरू मध्यम वर्गभित्रका पनि उच्च, मझौला र निम्न वर्गका छन् जस्तो लाग्छ। गरिबीको रेखामुनि भएका लाख खर्चेर उड्न सक्दैनन्। ज्यानको जोखिम मोलेर पचास लाखभन्दा माथि तिरेर तल्लो बाटो हुँदै अमेरिका पुग्नेहरूलाई पक्कै पनि दरिद्र भन्न मिल्दैन। उनीहरू भनेको मध्यम वर्गभित्रका उच्च हैसियत राख्नेहरू हुन्।पन्ध्र लाखवरिपरि खर्चेर जापान, अस्ट्रेलिया र युरोप सोच्नेहरू मझौला हुन् कि! पाँच लाखमुनि तिरेर खाडी जानेहरूलाई निम्न स्तरमा राख्न सकिएला! जसरी मैले बुझेको छु, हुनसक्छ अरुले यसलाई फरक कोणबाट विश्लेषण गर्न सक्नुहुन्छ! भोगाइ र बुझाइ आ–आफ्नै हुन्छन्। सरकारकै तथ्याङ्क मिल्छ भन्ने पनि छैन। 

Comments

Popular posts from this blog

Dengue in Nepal: A Growing Public Health Concern

Will increasing Everest permit fees lead to a more sustainable and safer climbing experience, or will it limit accessibility and negatively impact the local economy?