नेपाली भूमि लिपुलेकमा भारतले एकतर्फी रूपमा सडक निर्माण गरेको विरोधमा भारतीय राजदूतलाई कूटनीतिक नोट बुझाएको सरकारले चीनलाई समेत आफ्नो स्थिति जानकारी गराउने तयारी गरेको छ । ‘चीनका लागि नेपाली राजदूतले सम्भवतः बुधबार बेइजिङलाई स्थितिबारे अवगत गराउँदै कूटनीतिक नोट बुझाउनेछन्,’ उच्च कूटनीतिक स्रोतले नागरिकलाई भन्यो, ‘हामीले भारत र चीनबीच सन् २०१५ मा लिपुलेक भञ्ज्याङ हुँदै व्यापार मार्ग खोल्ने निर्णयको विरोध यसअघि नै गरिसकेका छौं ।’ नेपाल भूकम्पले थलिएका बेला २०७२ जेठमा लिपुलेक भञ्ज्याङ हुँदै व्यापारिक मार्ग खोल्ने भारत र चीनबीच सम्झौता भएसँगै सडक निर्माण समेत पूरा भएको छ । कालापानी क्षेत्रलाई त्रिदेशीय बिन्दु मानेको चीनले समेत भारतसँग द्विपक्षीय सम्झौता गरेर नेपाललाई अलग्याएको छ । भारत–चीनबीच सम्झौता भएलगत्तै नेपालले चीनलाई कूटनीतिक नोट पठाएको थियो । अहिले नेपाली भूमि हुँदै भारतले सडक निर्माण गरेपछिको स्थितिलाई नेपालले गम्भीरतापूर्वक लिएको जानकारी स्वरुप सरकारले भारतीय राजदूत विनयमोहन क्वात्रालाई सोमबार कूटनीतिक नोट बुझाइसकेको छ । पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ...